प्रहरी इन्चार्जबाट जवानको कुटपिट

२२ फागुन २०७८ महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा रहेको अस्थायी प्रहरी पोष्टका इन्चार्जले सोही प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानलाई निर्घात कुटपिट गरेका छन् । जलेश्वर नगरपालिकाको कार्यालयभित्र रहेको अस्थायी प्रहरी पोष्टको असई मोतीराम महतोले प्रहरी जवान जयनारायण पटेललाई निर्घात रुपमा कुटपिट गरेका हुन् ।

शनिबार बिहान ९ बजे खाना पकाई रहेको समयमा एक्कासी असई महतो उनीमाथि जाइ लागेका थिए । नेपाली काँग्रेस महोत्तरीको जिल्ला निर्वाचनको क्रममा अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई होटलमा खानाका लागि कुपन उपलब्ध गराइएको थियो । तर प्रहरी जवान पटेललाई सो विषयमा जानकारी नै थिएन । प्रहरी जवान पटेलले भने ‘मलाई निम्ताको विषयमा थाहा थिएन, खाना पकाउनका लागि आलुको भुजिया काट्दै गर्दा असई साब आएर गालीगलौज गर्न थाले ।’ उनले अगाडी भने ‘गालीसम्म त ठीकै थियो तर असई साबले मुक्का, खुट्टा तथा लाठीले निर्घात रुपमा कुट्न थाले ।’ असई साबको कुटाइबाट आफू ढलेको उनले बताए ।

प्रहरी जवान पटेललाई उपचारका लागि शनिबार दिउँसो २ बजे अस्पताल भर्ना गराएको थियो । जलेश्वर जिल्ला अस्पतालमा उपचार गराएर उनी ड्युटीमा फर्कि सकेका छन् । यता अस्थायी प्रहरीको पोष्टको इन्चार्ज असई महतोले कामको दवाब र तनावका बीच आफूले लाठीले कुटेकोमा पछुतो रहेको प्रतिक्रिया दिए । यद्यपि आफूले गाली गलौजको साथै एक लाठी हिर्काउनु बाहेक केही नगरेको दावी गरे । तर प्रहरी जवान कामको चाप बढी रहेको समयमा पनि आफ्नो ड्युटी सकाएर थप ड्युटी गर्न चाहँदैनन्, असई महतोले भने ‘ खाना पकाउने ड्युटी प्रहरी जवान पटेलकै छ, तर कति दिन म स्वयंलाई नै भोकै सुत्नु परेको तितो अनुभव छ ।’ यद्यपि आफूलाई भोकै सुत्नु परेपनि कहिल्यै केही नगरेको बरु कयौँ पटक जिल्लामा यो जवान मलाई चाहिँदैन भनेर एसपी साबलाई मौखिक जानकारी गराई सकेको उनले बताए ।

जलेश्वर नगरपालिकामा रहेको अस्थायी प्रहरी पोष्टमा हाल एक जना असई, २ जना हवल्दार र ५ जना प्रहरी जवान कार्यरत रहेका छन् । यसअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज​ इन्सपेक्टर बेचन यादवले सोही प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवानमाथि दुव्र्यवहार गरेको घटना केही दिन अगाडि मात्रै बाहिरिएको थियो । साभार राेताे पाटी बाट